Home » :: हाईलाइट समाचार » नुब्री पर्यटनका अगुवा

नुब्री पर्यटनका अगुवा

Facebook Twitter Google+ Pinterest Reddit
Share
रमन पौडेल

ओठमाथि बाक्लो र लामो जुङ्गा, टाउकोमा अड्याइएको छत्रीजस्तो ह्याट । प्रायः लङ्ग कोटसहित राजशी ठाँटमा सजिएर हिड्ने एउटा अधवैंशे हिमाली कद । कम र मलिनो स्वरमा बोल्ने, आवरण हेर्दा जो कोहीले उनलाई भद्र देख्छन् । खाँट्टी उनको स्वभाव पनि उस्तै छ । र, त्यही व्यक्ति हो– लाक्पा ढान्डुप लामा ।

गोरखाको नुब्री भ्यालीस्थित प्रो गाउँमा जन्मे÷हुर्केका लाक्पाको औपचारिक पढाइ छैन । तर, नुब्री भ्यालीका प्रत्येक गाउँ र गल्छेडाहरुमा जीवन्त बनेका आफ्नै पदचापहरुबाटै धेरै सिकेका छन् उनले । पर्यटनको दृष्टिले आकर्षक मानिने गोरखाको उत्तरी भेग नुब्री भ्याली चार गाविस (बी, प्रो, ल्हो र सामा) मिलेर बनेको पर्यटकीय गन्तव्य हो, जुन मनास्लु पदमार्गमा पर्छ । यही भ्यालीलाई पर्यटनको पाइलामा बढाउने अभियन्ता हुन् लाक्पा ढोन्डुप लामा । उनले गरेका केही कठीन प्रयासबाटै नुब्रीवासीहरुले खास पर्यटन पेशामा जोडिने मौका पाए । वार्षिक २ देखि ३ सय पर्यटक जाने यो उपत्याकामा उनकै प्रयासले हिजोआज वार्षिक ७ हजारको हाराहारीमा पर्यटक जान थालेका छन् । गैर व्यवसायीक र अव्यवस्थित तरिकाले यहाँको पर्यटन चल्दैआएको थियो । त्यसो त, मनास्लु हिमाल आरोहणमा पनि प्रतिबन्ध भएकाले कम पर्यटक जानु स्वभाविक हो । यद्यपी, साँस्कृतिक र पर्यटकीय महत्वमार्फत पर्यटन पेशा उकास्न सकिने लाक्पालाई लागेछ ।

गाउँ छोडेको वर्षौं भएको थियो उनको । १६ वर्षसम्म सिंगापुर बसेर फर्किंदा पनि आफ्नो गाउँ उस्तै देखेपछि चाहिँ पर्यटकीय सम्भावना खोजीको लागि भन्दै एउटा टोली सहित भ्याली घुमेछन् । चार गाविसका युवालाई साथमा लिएर सुरु भएको पर्यटन अभियानले धेरै तहमा सफलता त पायो तर, उनी भन्छन्, ‘अझैं अभियान सकिएको छैन ।’ दुई महिनासम्म अध्ययन भ्रमण गरेर सुरु भएको उनको अभियान गाउँले युवालाई स्वरोजगार तथा शीपमुलक तालिम, ट्रेकिङ गाइड तालिम, कुक तालिम लगायत पर्यटनसँग सम्बन्धित शीपमा सहभागी गराउँदै लाक्पाले आफ्नै अगुवाइमा सन् २०११ मा मनास्लु महोत्सव समेत गराए । महावीर पुनको सहयोगमा गाउँमा इन्टरनेट सेवा दिने, अन्य विभिन्न संघसंस्थासँग मिलेर नुब्रीलाई ग्रेट हिमालय ट्रेल को रुपमा विकास गरेछन् । त्यसो त, अचेल २० हजार बढि नुब्री गाउँलेहरु पर्यटनसँग प्रत्यक्ष जोडिएका छन् । लाक्पालाई प्रभावित गरेको एउटा बाक्य रहेछ, ‘भोको मान्छेलाई माछा मारेर नदेऊ, बरु माछा मार्न सिकाऊ ।’ र त, उनले नुब्रीका दर्जनौं युवालाई सिकाएको शीप आज देखिएको छ । गाउँलेहरु आफैं होटल, लज, साइवर सञ्चालन गर्न थालेका छन् ।

काठमाडौंबाट विभिन्न टोलीलाई नुब्रीसम्म पु¥याएर गाउँको वृत्तचित्र बनाउन प्रेरित गर्ने, नक्साङ्कन गर्ने, प्रचार–प्रसार गर्ने जस्ता कामको अगुवाई पनि गरे उनले । गाउँको गरिब परिवारमा जन्मिएका लाक्पाले सानोमा यस्तो सायदै सोचेका थिए । बरु, उनलाई दैनिक गुजाराकै चिन्ता थियो । ९ वर्षको उमेरमै गोरखादेखि खाली खुट्टा हिडेरै काठमाडौं आएछन् उनी । कामको लागि बावुको साथ लागेर आएका लाक्पाले काम त पाए तर, अरुको घरमा सहयोगी । भात पकाउने, भाँडा माज्ने, लुगा धुने जस्ता काम उनले केही वर्षसम्म नियमित गरिरहे । दुर्भाग्य, काठमाडौंसम्म डो¥याउंदै ल्याएका बावु घर फर्केको केही महिनामै बितेछन् । अरु दाजुहरु पनि परिवारबाट छुट्टिए । सात सन्तानमा कान्छा लाक्पालाई थप पारिवारिक भार परेछ । काठमाडौंमै अरु सम्भावनाको खोजीमा भौंतारिएछन् । भन्छन्, ‘एक जना ब्याङ्क साहुको घरमा नोकर बसें । तलव थियो, १ सय ५० रुपैयाँ ।’ त्यतिवेलाको उमेर हेक्का छैन उनलाई तर, वाल वय नै थियो रे ।

सन् १९९३ मा अर्का यस्ता साथी भेटिए जसको साथमा उनी सिंगापुर पुगेछन् । त्यहाँ पनि उनले चार वर्षजति इलेक्ट्रिसिटीको क्षेत्रमा सहयोगीको काम गरे । क्रमशः भाषा र शीपले थप आत्मवल पनि बढायो । अनि सुरु गरे आफ्नै पेशा सिंगापुरमा, ‘स्ट्रिट सप’ । व्यवसायमा उनी पोख्त थिए । भलाद्मी र मिजाशिलो स्वभाव उनको सफलताका सहायक बने । सिंगापुरेहरुको मन जितिहाले । त्यसो त, विहे पनि भयो सिंगापुरकी युवतीसँग । साथमा दुई छोरा छन् अहिले । आफ्नो पसलमा उनी गोर्खालीपन झल्काएका हुन्थे रे । टाउकोको ह्याट कहिल्यै झिकेनन् । जसले चिनाउथ्यो उनलाई खास हिमाली भेगको नेपाली । चिन्नेहरु सबैले उनलाई ‘गोर्खाली’ भनेर बोलाउथे रे । थप्छन्, ‘यस्तो नामले बोलाउँदा मन हर्षले औधी पुलङ्कित हुन्थ्यो । त्यही नाम सफलताको कसी पनि बन्यो ।’ यो शीलशीला १६ वर्षसम्म चलेछ सिंगापुरमा । सम्बन्ध र साइनो त बढाए, सँगै पैशा पनि कमाए उनले ।

त्यही सिकाइ र शीपलाई पोखे नुब्रीमा । नुब्रीको पर्यटन अध्ययनको क्रममा आफ्नै अध्यक्षतामा उनले सुरु गरेको एउटा संस्था ‘नुब्री सांस्कृतिक युवा उत्थान समिति’ सक्रिय छ । युवा स्वरोजगार, शीपमुलक तालिम जस्ता काममा उनको संस्था जुटेको छ । भन्छन् ‘विदेशिएका युवाहरु अचेल गाउँ फर्केर आफ्नै पेशामा जुटेका छन् । सिजनमा एउटै साइवरले ६ लाख कमाउँछ रे ।’ लाक्पाको सोझो बुझाइ छ, मनास्लु हिमाल आरोहणमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा ग¥यो भयो भने त्यहाँ धेरै पर्यटक पुग्नेछन् । जसका लागि माधव नेपालको नेतृत्वमा बनेको सरकारलाई दवाव दिंदै सयौं नुब्रीबासीको जुलुस नै ल्याएर सिहंदरबार घेराउ समेत गर्न भ्याएछन् उनले । नुब्रीको पर्यटनका लागि लाक्पाले गरेको प्रयास सबै सफल भएनन् । भएका चाहिँ महत्वपूर्ण र प्रभावकारी बने । जो उनका लागि समाजसेवामा लाग्ने थप उर्जा बन्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नुब्री पर्यटनका अगुवा Reviewed by on . रमन पौडेल ओठमाथि बाक्लो र लामो जुङ्गा, टाउकोमा अड्याइएको छत्रीजस्तो ह्याट । प्रायः लङ्ग कोटसहित राजशी ठाँटमा सजिएर हिड्ने एउटा अधवैंशे हिमाली कद । कम र मलिनो स् रमन पौडेल ओठमाथि बाक्लो र लामो जुङ्गा, टाउकोमा अड्याइएको छत्रीजस्तो ह्याट । प्रायः लङ्ग कोटसहित राजशी ठाँटमा सजिएर हिड्ने एउटा अधवैंशे हिमाली कद । कम र मलिनो स् Rating: 0

Leave a Comment

Scroll to top
>