Home » विचार » लाङटाङ विपत्तिः मानवमाथि प्रकृतिको विजय

लाङटाङ विपत्तिः मानवमाथि प्रकृतिको विजय

Facebook Twitter Google+ Pinterest Reddit
Share

langtang 3

मानव जाति प्रकृतिकै एउटा चेतनशील एवम् शक्तिशाली अवयव हो । मानव जातिले प्रकतिलाई उपयोग गर्दछ । प्रकृतिसित एकता कायम गर्दछ र आफूलाई प्रकतिसँग मिल्दो बनाउने कोसिस पनि गर्दछ । तथापी निर्वाध अस्तित्व प्राप्तिका लागि उसले प्रकृति र परिस्थितिसित संघर्ष गर्नुको विकल्प पनि छैन । मानवको प्रकृतिसितको संघर्ष स्वयम्को अस्तित्व तथा समाज विकासका लागि बाध्यता नै हो । त्यसैले वर्तमान मानव समाज प्रकृतिसितकै संघर्षको उपज हो । संघर्षका क्रममा मानवले प्रकृतिमाथि क्षणिक विजय हासिल त गर्छ नै । तर एउटा शाश्वत सत्य के हो भने एकातिर प्रकृतिले हारे पनि अर्कोतिरबाट मानवलाई नजिति छाड्दैन । जब प्रकृतिले मानव जातिलाई जित्छ, त्यतिखेर मानवको त अस्तित्व रहँदैन नै । मानव निर्मित संरचनाहरू पनि बाँकी रहँदैनन् । फलतः त्यहाँ पुनः शून्यता छाउँछ ।

langtangg
प्रकृतिसित मानव जातिको यस्तै एउटा हार भयो लाङटाङमा २०७२ वैशाख १२ गते । जसको कारण लाङटाङमा फेरी एकपटक शून्यता छायो । वसन्तको हरियाली बीचमै लाङटाङ उजाड मरुभूमिमा परिणत भयो । त्यो मानवमाथि प्रकृतिको निर्मम प्रहार नै थियो । त्यो प्रहारमा १७५ जना स्थानीय, लाङटाङको सुरक्षार्थ खटिएका १० जना नेपाली सेना र विभिन्न देशहरूबाट पदयात्राका सिलसिलामा आएका विदेशी पदयात्री समेत गरी २०० भन्दा बढी मानिसहरूले ज्यान गुमाए । आधा क्षतिग्रस्त अवस्थामा उभिएको एउटा घर बाहेक सैनिक ब्यारेक, १७ होटल, ४ घर एक गुम्बा लगायतका मानव निर्मित सबै संरचनाहरू मरुभूमि भित्र बिलाए । हिउँ पहिरोको सामुन्ने परेका संरचनाहरूको त निसानै नरहने गरी पुरिए नै । यतिसम्म कि युगौँदेखि उभिएका खस्रेसाल र लालिगुराँसका बृक्षहरू पनि ढल्न बाध्य भए । लाङटाङ खोलाको गती पनि रोकियो । पहिरो बाहिरका ८३ घरहरूलाई पनि पहिरोसंगै आएको अत्यन्तै बलियो आँधि र हुरीले भग्नावशेषमा परिणत गराइ छाड्यो । लाङटाङ र क्यान्जिन बिचमा पर्ने मुन्डु र सिन्डुम गाउँ समेत पनि नराम्ररी प्रभवित भए । यसबाट के स्पष्ट हुन्छ भने मानव जातिले आफू र प्रकृतिबीचको भौतिक सम्बन्धलाई आफ्नो इच्छा, अनुकुल र नियन्त्रणमा संचालन गरीरहन कदापी सक्दैन ।

langgg
गत वर्ष लाङटाङमा प्रकृतिसित भएको मानव जातिको पराजय पहिलो घटना भने पक्कै थिएन । प्रकृतिले पहिले पनि पटक पटक विजय हाँसिल गरेर किल्ला खडा गरिसकेको ठाउँ थियो लाङटाङ गाउँ । अघिल्लो पटक १९९० को महाभूकम्पमा पनि त्यसरी नै किल्ला खडा गरेर त्यहाँभन्दा अगाडि नबढ्न चेतावनी दिएको थियो ।
यसरी पटकपटक दिएको चेतावनीका वावजुत पनि मानव जातिले प्रकृतिमाथि अतिक्रमण गर्न छाडेन । फेरी पनि प्रकृतिमाथि निरन्तर धावा बोल्दै गयो । आफ्ना सीप र श्रमऔजारहरूले प्रकृतिको रूपलाई बदल्ने कोसिस गर्दै गयो । अझ भनौँ मनव जाति निरन्तर प्रकृतिसित भिडि नै रह्यो । जुन कुरा प्रकृतिलाई सैह्य थिएन । प्रकृति दिनप्रतिदिन उदण्ड हँदै गैरहेको कुरो मानिसले पत्तै पाएन । तसर्थ एक पटक फेरी मानव जातिका लागि कित्ताकाट गरेर मानवीय फैलावटलाई खुम्च्याई दिएको छ । यतिसम्म कि लाङटाङ खोला आफै पनि त्यो विशाल पाकृतिक खण्डहरमा लुक्न वाध्य छ ।

langg
लाङटाङको जुन बस्तीमा हिउँ पहिरो खस्यो, त्यसको शीरमा तीन गगनचुम्बी हिमालहरू लाङटाङ लिरूङ(७२४६ मि.) लाङटाङ–२(६५९६ मि.) र लुरी हिमाल (६८०४ मि.) अवस्थित छन् । यी तिनै हिमालहरूबाट प्रवाहित हुने हिमनदी अन्ततः एकै धारमा मिसिन्छ । जुन ठाउँमा स्वभाविक रूपमा हिमताल बनेको छ । यहीँबाट पग्लेको हिउँ पानी बनेर बाहिर निस्कि छहराको रूप लिन्छ । लाङटाङ गाउँबाट देखिने छहरा पनि त्यही नै हो । भूकम्प जादाँ हिमालको शीरबाट खसेका हिउका चट्टानहरू हिमनदीको बाटो हँुदै तालमै आएर मिसिदा हिउँ र पानीको आयतन बढ्न गई त्यसले त्यहाँ भएका चट्टान समेत बढारिन पुग्यो र बढारिएको ढुङ्गा, माटो र हिउँको बहाड गाउँमा खस्यो र पुरै गाउँ बढा¥यो ।
मानिसकोे जीवनशैली, उसको सोच एवम् मनोवृत्ति र प्रकृतिसँग स्वयम् प्रकृतिकै अन्तरनिहीत सम्बन्ध हुन्छ । तर मानव मनको अमापनीय तरङ्गले समग्र प्रकृतिका कण–कणलाई परिचालन गर्न नसक्ने भएकोले आत्मा शुद्ध, पवित्र र स्वअनुशासित रहनसके प्रकृतिमा हुने यस्ता विकृतिले पार्ने असर कमै हुन्छ । सायद अलिकति सचेत हुन सकेको भए अर्थात् पकृतिले नै कोरिदिएको रेखाभन्दा अगाडि नबढिदिएको भए त्यति धेरै क्षति ब्यहोर्नु पर्ने थिएन, जति त्यो पराजयले बेहोर्नु प¥यो । अब फेरी पकृतिले कोरिदिएको लक्ष्मण रेखालाई चेतनशील मानवले कुल्चने महाभूल गर्न हुन्न ।

langtang 1

  • राजेन्द्रमान डंगोल

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

लाङटाङ विपत्तिः मानवमाथि प्रकृतिको विजय Reviewed by on . मानव जाति प्रकृतिकै एउटा चेतनशील एवम् शक्तिशाली अवयव हो । मानव जातिले प्रकतिलाई उपयोग गर्दछ । प्रकृतिसित एकता कायम गर्दछ र आफूलाई प्रकतिसँग मिल्दो बनाउने कोसिस मानव जाति प्रकृतिकै एउटा चेतनशील एवम् शक्तिशाली अवयव हो । मानव जातिले प्रकतिलाई उपयोग गर्दछ । प्रकृतिसित एकता कायम गर्दछ र आफूलाई प्रकतिसँग मिल्दो बनाउने कोसिस Rating: 0
Scroll to top
>